इरानी अधिकारीले भने, ‘ट्रम्प कोरोना भाइरस भन्दा खतरनाक’

इरानी एक अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस भन्दा पनि खतरनाक भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय मिडिया अलजजिराका अनुसार कोरोना भाइरस रोकथामका लागि इरानमा ल्याउन लागिएको आवश्यक मेडिकल उपकरण तथा अत्यावस्यक सामग्री अमेरिकाले रोकेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् । इरानी नौसेनाका प्रमुख अली शमखानीले यस्तो प्रतिक्रिया दिएका हुन् । इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव समेत रहेका उनले अमेरिकाले गरेको कामलाई मानवताविरोधी अपराध भएको पनि बताए ।



महामारीका बेला इरानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले गर्न लागेको सहयोगको प्रयासलाई पनि अमेरिकाले रोकेको उनको आरोप छ । ‘स्वास्थ्य सामग्रीमा प्रतिबन्ध लगाउनु अवैध र अमानवीय हो, र ट्रम्पको खुला शत्रुताको संकेत हो,’ शमखानीले भनेका छन् ।शमखानीले अघि भनेका छन्, ‘ट्रम्प कोरोना भाइरस भन्दा धेरै खतरनाक छन् ।’

ट्रम्पले भने गत शुक्रबार कोरोनाविरुद्धको लडाइँमा इरानलाई सहयोग गर्नु आफ्नो नैतिक जिम्मेवारी भएको बताएका थिए । यद्यपि इरानबाट आफूलाई कुनै आग्रह नभएको पनि जिकिर गरे । ‘यदी उनीहरु भेट्न चाहन्छन् भने हामी भेट्न मन पराउँछौँ, र सबै कुरा सुल्झाउन चाहन्छौँ,’ ट्रम्पले भनेका थिए । २०१८ देखि ट्रम्प प्रशासनले इरानमाथि कडा प्रतिबन्ध लगाउँदै आएको छ । ट्रम्प शासनमा आएपछि इरानविरुद्ध अमेरिकाले ‘अत्याधिक दबाब’को नीति अवलम्वन गर्दैआएको छ ।

यसअघि इरानी नेता हसन रौहनीले महामारीका बेला अमेरिकाको लागि इरानमाथिको प्रतिबन्ध फुकुवा गर्ने ठूलो अवसर भएको बताएका थिए । तर ट्रम्पको कुनै जवाफ आएको थिएन ।

यो समाचार तयार पार्दासम्म विश्वभर १२ लाख ७८ हजार ५२३ जना मानिस संक्रमित भएका छन् भने ६९ हजार ७५७ जनाको मृत्यु भएको छ । यस्तै २ लाख ६६ हजार ७३२ जना निको भएर घर फर्किएका छन् । ४५ हजार ८९७ को अवस्था गम्भिर छ । अहिलेसम्म विश्वभरीकै अत्याधिक प्रभावित देश इटालीमा अहिलेसम्म १५ हजार ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २८ हजार ९ सय ४८ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै स्पेनमा १ लाख ३१ हजार ६ ४६ जना नयाँ संक्रमित पाइएका छन् भने १२ हजार ६ सय ४१ जनाको ज्यान गइसकेको छ । त्यस्तै ३ लाख ३६ हजार ८५१ जना अमेरिकामा संक्रमित भएका छन् भने ९ हजार ६२० जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्रान्समा संक्रमितको संख्या ९२ हजार ८३९ पुगेको छ भने ८ हजार ७८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्रिटेनमा ४७ हजार ८ सय ६ जनामा संक्रमण पाइएको छ भने ४ हजार ९३४ जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा अहिलेसम्म ८१ हजार ७०८ जनामा संक्रमण देखिँदा ३ हजार ३ सय ३१ जनाको मृत्युभएको छ भने आजमात्रै चीनमा थप २ जनाको मृत्यु भएको हो । त्यस्तै ईरानमा अहिलेसम्म ३ हजार ६ सय ३ जनाले ज्यान गुमाएका छन् भने ५८ हजार २ सय २६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै नेदरल्याण्डमा १७ सय ६६ जनाको मृत्यु हुँदा १७ हजार ८ सय ५१ जनामा संक्रमण देखिएको छ । त्यस्तै बेल्जियममा २० हजार ८ सय १४ जनामा संक्रमण देखिँदा १ हजार ६३२ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् ।

अन्य देशहरुमा कोरोना भाइरसको संक्रमण र मृतकको संख्या कम हुँदै गएको अवस्थामा बेल्जियममा भने आजमात्रै थप एक सय ८५ जनाको मृत्यु भएको छ भने १ हजार १ सय २३ जना नयाँ संक्रमित फेला परेको छन् ।

त्यस्तै छिमेकी देश भारतमा ४ हजार ३ सय १४ जनामा संक्रमण देखिएको छ भने १ सय १८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार