भारतको झारखण्डमा ‘थुक फ्याँकेर कोरोना फैलाउने’ हल्लाले हिन्दु–मुस्लिम दंगा हुँदा एकको मृत्यु

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का विषयमा अनावश्यक हल्ला फैलिँदा भारतमा प्रहरी र प्रशासनको टाउको दुखाईको विषय बनेको छ । प्रहरी र प्रशासनको कैयौँ कोशिसका बावजुद कारोना भाइरसलाई लिएर अफवाह फैलने क्रम रोकिएको छैन। यसको प्रभाव मंगलबार राति भारतको झारखण्ड राज्यको गुमला जिल्लाका कुदरा र सिसई बस्तीमा देखिएको छ।

मुस्लिम समुदायले थुक फ्याँकेर कोरोना भाइरस फैलाएको अफवाहपछि उक्त क्षेत्रमा हिन्दु–मुस्लिमबीच दंगा भड्किएको छ । उक्त हिंसामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।



झारखण्डको राजधानी राँचीदेखि ११८ किलोमिटर टाढाको कुदरा गाउँ र १२० किलोमिटरको दूरीमा रहेको सिसई बस्तीको अवस्था तनावग्रस्त बनेको छ । दंगामा मृत्यु भएका बोलवा उराँवको परिवारमा श्रीमतीका साथै तीन छोरी र एक छोरा छन्। उनी पेशाले किसान हुन्। उनको मृत्युपछि पूरै परिवार शोकमा डुवेको छ।

स्थानीयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मंगलबार राति कुदरा गाउँमा एक जना युवा (मुस्लिम) र एक युवती (हिन्दु) लाई स्थानीयले समातेका थिए। उनीहरु एकअर्कालाई प्रेम गर्थे र लुकिछिपी भेट्थे । केटी त्यही गाउँकी थिइन् भने केटा छिमेकी गाउँ सिसई बस्तीका थिए । केटाको साथमा दुई जना अरु पनि थिए । उनीहरु भने भागे ।

कुन्दरा गाउँमा यसैबीच हल्ला मच्चियो– मुस्लिम समुदायका मानिसहरु कोरोना फैलाउन गाउँ आएका छन् र ठाउँठाउँमा थुकिरहेका छन्। त्यसपछि गाउँका युवाहरुले समातिएका ती युवामाथि कुटपिट गरेका थिए । उक्त घटनाको सूचना नजिकैको सिसई बस्तीमा पुग्न समय लागेन। उक्त खबर पाउनवित्तिकै सडकमा ठूलो संख्यामा मानिसहरु जम्मा भए ।

होहल्ला बुझ्न घर बाहिर निस्किएका एक जना (बोलवा उराँव) लाई मुस्लिम समुदायका मानिसहरुले कुटपिट गर्न थाले । उक्त घटनाको जानकारी पाएपछि घटनास्थल पुगेर घाइतेलाई उपचारका सिसई रेफरल अस्पताल लिएर गएपनि उनलाई डाक्टरले मृत घोषित गरेको जिल्ला परिषद् अध्यक्ष किरण बाराले बताए ।

स्थानीय प्रहरीले अफवाहका कारण उक्त घटना हुन पगेको जनाएको छ ।

सम्बन्धित समाचार