मदाने गाउँपालिका २ बाँझकटेरी गुल्मीका प्रेम नेपाली पढ्दापढ्दै रोजगारीका लागि भारत पुगे । १७ वर्षीय उनी गाउँकै बाँझकेटरी माविमा कक्षा ८ मा पढ्दै थिए । घरखर्च धान्नका लागि आफू मुग्लान गएको उनी बताउँछन् ।
कृष्णनगर हुँदै उनी भारतको गोण्डा पुगेर उनले उद्योगमा बोरा फाल्ने काम पाए । काम गर्न थालेको १५ दिन हुन लागेको थियो । तर कोरोना भाइरसको त्रास फैलिँदै गयो । भारतमा भएका अधिकांश नेपालीहरु घर फर्किन थाले । पहुँच हुनेहरु त गाडीमा हुँइकिए ।
तर उनी न त गाडी पाए न आफूले काम गर्ने ठाउँमा बस्न सके । काम गरेको पैसा मागौं भने महिना दिन पुगेकै थिएन् । जसोतसो मालिकसँग आग्रह गरेर घरसम्म पुग्ने गाडीभाडा मागे । ‘बोरा फालेर दिनको ६ सय ढ्याडी बुझ्थेु,उनले भने, ‘१५ दिन काम गरेको थिए । सबै छाडेर आएको छु । मालिकले पठाइदिन्छु भनेका छन् ।’
मालिकले घरसम्म पुग्ने भाडा त दिए तर उनी भाडा दिनका लागि गाडी चढ्ने मेसो पाएनन् । लकडाउनले बजार ठप्प थियो । पहुँच हुनेहरु मात्र आफ्ना नीजि गाडीमा हिड्थे । आफ्नै कम्पनीमा काम गर्ने गाउँकै कृष्ण नेपालीलाई उनले घर जान आग्रह गरे । दुवैजना हिँडेरै भएपनि घरजाने निधोमा पुगे ।
कामगर्ने ठाउँ भारतको गोण्डाबाट कृष्णनगर आउनै उनीहरुलाई दुई दिन लाग्यो । रातको समयमा उनीहरु बाटोमा भेटिएका प्रतिक्षालयमा सुत्थे । तीनरचार रात त नसुतेरै रातभर हिँडेरै उज्यालो बनाउँथे । झोलामा चाउचाउ, बिस्कुट उतैबाट लिएका थिए । भोकलाग्दा बाटोमा बसेर खान्थे । लकडाउन लम्बिदै गयो भने घर जान पाइँदैन् भन्ने उनीहरुमा त्रास थियो । जति दिन लागेपनि घरपुग्ने उनीहरुको अन्तिम धोको थियो ।
‘जसरी पनि घरपुग्नुपर्छ भन्ने मनमा थियो, ‘कृष्ण नेपालीले भने, ‘खुट्टा सुन्निका थिए, विस्तारै कम हुँदै गएका छन् ।’ कृष्णनगरबाट चन्द्रौटा हुँदै गुल्मी पुर्कोटदह आएको उनले सुनाए । भारतमा दुई दिन र नेपाल छिरेपछि पाँच दिन घरसम्म आउन लागेको उनीहरु बताउँछन् । यसअघि पंजावमा काम गर्दै आएका उनी त्यहाँ चित्त नबुझेपछि गोण्डा पुगेका थिए । ‘काम गर्दै जाँदा गाउँकै प्रेम भाई भेटिए,’कृष्णले भने, ‘एउटै गाउँका भएपछि घर आउन हौसला मिल्यो ।’
जति समस्या झेल्नुपरे पनि आफ्नै जन्मभूमीमा झेल्ने उनीहरुको सपना थियो । उनीहरुले आफ्ना कपडा र सामानहरुको झोला काम गर्ने ठाउँमै छाडेर आएका छन् । झोला बोकेर पैदल हिड्न नसक्ने भएपछि उतै छाडेर आएको नेपालीले जानकारी गराए ।’रोग फैलिँदै जाने हो की भन्ने चिन्ता लाग्यो, ‘नेपालीले भने, ‘पछि घरमा जान पाइँदैन की भन्ने चिन्ता भइरहन्थ्यो ।’
चैत २२ गते साँझ उनीहरु मदाने गाउँपालिकाको कार्यालय पुर्कोटदह आइपुगेका थिए । गाउँमा आएपछि घरमा नगएरै उनीहरु गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा गएका छन् । ‘भारतबाट आएपछि सिँधै घरमा जानुहुँदैन् भन्ने सुनेका थियौँ,कृष्णले भने, ‘ त्यही भएर क्वारेन्टाइनमा गयौँ ।’ १४ दिन पुगेपछि मात्र घरमा जाने उनीहरुले बताए । उनीहरुलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन् ।
घरबाट आफन्तहरु क्वारेन्टाइनमा भेट्न आइरहेको उनले जानकारी गराए । उनीहरुसँगै क्वारेन्टाइनमा दश जना बसेको गाउँपालिका उपाध्यक्ष सरीता खड्काले जानकारी गराइन् । खड्का अनुसार गाउँपालिकाभरी ६६ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । दश जनाबाहेक अरु क्वारेन्टाइन रित्तै छन् ।