नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने भएको छ । कनेक्ट आइपीएसमा आबद्ध कुनै पनि बैंकको खातामार्फत घरमै बसी बसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने भएको व्यहोरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्पनीको शाखा-उपशाखा कार्यालयमा गई आफ्नाे प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरूले अब सहज र सरल तरिकाबाट कनेक्ट आइपीएसमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने पनि कम्पनीले जनाएको छ ।
नेपाल लाइफले आफ्ना सेवाग्राहीहरूलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरू ई–सेवा तथा प्रभु पेबाट अनलाइन भुक्तानी भइरहेको छ । त्यस्तै फोन पेमार्फत आफ्नो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्टको इन्टरनेट बैंकिङमार्फत् अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।