विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३५८ पुगेको छ । भारतमा एकैदिन १ हजार २४८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० हजार ४५३ पुगेको छ ।
भारतमा संक्रमितमध्ये १ हजार १८१ जना उपचारपछि निको भएका छन् । ८ हजार ९१४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १९ हजार ६१८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख २३ हजार ८ सय भन्दा बढी रहेको छ ।