ट्रम्प भन्छन्-‘महामारीको चरमसीमा यत्ति नै हो’

गएको २४ घण्टाभित्रै अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी २६ सय कोरोना संक्रमितले ज्यान गुमाएका बेला त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको चरमसीमा यत्तिमै सीमित रहने दाबी गरेका छन् । अमेरिकामा हालसम्म ३० हजार भन्दा बढी संक्रमितको ज्यान गएको जोन हाप्किन्स विश्वविद्यालयले जनाएको छ।

जुन कुनै एक देशमा कोरोनाका कारण भएको अहिलेसम्मकै ठूलो मानवीय हताहती हो । पछिल्लो तथ्यांकले अब अमेरिकाको आर्थिक गतिविधी खुला गर्न मार्गप्रशस्त भएको पनि ट्रम्पले तर्क गरेका छन् । तर त्यहाँ अन्य देशको तुलनामा सबैभन्दा बढी अर्थात झण्डै साढे ६ लाख संक्रमित भेटिएका छन् । नयाँ संक्रमितको संख्या पनि बढिरहेको छ ।



चीनको उहानमा पहिलो कोरोना संक्रमित पत्ता लाग्दा अमेरिकी राष्ट्रपति ट्रम्पले त्यसलाई चिनियाँ भाइरसको संज्ञा दिएका थिए । नागरिकले लकडाउन र स्वास्थ्य सजगताका लागि बारम्बार आग्रह गर्दा पनि उनले आफूलाई आगामी चुनावमा हराउन मानिसहरु लागिपरेको जिकिर गरेका थिए । संक्रमण फैलिएर सैयौं मानिसको ज्यान गइसक्दा पनि अमेरिकामा मानवीय जमघटमा रोक लगाइएको थिएन। संक्रमण रोकथाममा अमेरिकाले लापरवाही गरेपछि विश्वभर राष्ट्रपति ट्रम्पको आलोचना हुँदै आएको छ ।

सम्बन्धित समाचार