बेलायतमा कोरोना संक्रमणका कारण गर्भवती नर्सको मृत्यु भए पनि उनको गर्भको शिशुलाई भने चिकित्सकले सकुशल बाहिर निकाल्न सफल भएका छन् । लुटन एन्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा कार्यरत २८ वर्षीया नर्स मेरी अगियइवा अग्यापोङको कोरोना संक्रमणका कारण गत आइतबार मृत्यु भएको हो । उनी बिरामीको उपचारमा खट्दा–खट्दै संक्रमित भएकी थिइन् ।
तर उनको मृत्यु भए लगत्तै चिकित्सकले आकस्मिक शल्यक्रिया गरी पेटमा रहेको बच्चा जीवितै निकालेका हुन् । यही अप्रिल ७ तारिख ती नर्सलाई उनी कार्यरत हस्पिटलमै भर्ना गरिएको थियो ।
नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तर शिशुमा कोरोना भाइरसको संक्रमण भए–नभएको केही खुलाइएको छैन ।