एनआईसी एशिया बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोले अहिलेको असहज परिस्थितिमा आफ्ना ऋणीहरुलाई सहुलियत प्रदान गर्न तथा यस असहज परिस्थितिबाट उदार गर्न ऋणीले बुझाउन पर्ने ब्याज रकममा छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
यसअन्तर्गत बैंकबाट कर्जा सुविधा उपयोग गरेका सम्पूर्ण ग्राहकहरूले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा बुझाउनु भएको साधारण ब्याजको १०% ले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरूमा पनि लागू हुनेछ । उक्त छुट रकम २०७७ जेष्ठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिने छ । तर यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहकले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम हुनेछैन ।
बैंकले यस सुविधाको फाइदा उठाउन सम्पूर्ण ग्राहकलाई अनुरोध समेत गरेको छ ।