चीनले सच्यायो तथ्याङ्क, वुहानमा मृत्यु हुनेको संख्या ५० प्रतिशतले बढ्यो

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको उद्गम थलो चीनको वुहानमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या झण्डै ५० प्रतिशतले बढेको देखिएको छ ।

वुहान शहरले कोभिड १९ बाट ज्यान गुमाएको संख्या अपडेट गरेको हो । इपिसेन्टर वुहानमा ज्यान गुमाएको संख्या १२ सय ९० थपिएपछि चीनमा मृत्यु हुनेको कुल संख्या ४६३२ पुगेको छ । चीनका अधिकारीले थप भएको संख्या नयाँ मृत्यु भएका व्यक्तिको नभएको र यसबाट आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।



महामारीको सुरुमा वुहानका केही अस्पतालमा बिरामीको अत्याधिक चाप भएको र ती अस्पतालहरुले सुरुमा ज्यान गुमाउनेको संख्या गलत टिपाएकाले अहिले पुनः संख्या संशोधन गरिएको चीनको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस्तै कुल संक्रमितको संख्या पनि वुहान ३२५ जनाले थपिएका छन् । योसँगै वुहानमा संक्रमितको संख्या ५० हजार ३३३ पुगेको छ । वुहानकै बासिन्दासहित विश्वभर चीनले प्रभावितको वास्तविक संख्या लुकाएको आशंका गर्दै आएका थिए । एक स्रोतले चिनियाँ अधिकारीले महामारीका प्रमुख ६ दिनको तथ्यांक भएको भन्दा कम देखाएको बताएका थिए ।

सम्बन्धित समाचार