राजनीतिक भागबन्डाको आधारमा गरिमामय पदमा पुगेकाहरूले आफ्नो पदको गरिमालाई बुझ्न नसक्ता कसरी खुलेआम पदको दुरुपयोग भइरहेछ भन्ने कञ्चनपुरमा भएको एउटा घटनाले थप पुष्टि गरेको छ । श्री सिद्धार्थ साइन्स क्याम्पसका अनेरास्ववियुसँग सम्बद्ध विद्यार्थीहरूले आफ्ना केही सहपाठीहरूलाई बाँडेको राहत सामग्रीको विषयलाई क्याम्पसका सहायक क्याम्पस प्रमुख करनसिंह महराले क्याम्पसको लेटरप्याडमा एक विज्ञप्ति प्रकाशित गरेर ‘हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियु’ भनेर चाकडीको भाषा प्रयोग गरेर आफ्नो पदको चरम दुरुपयोग गरेको खुलेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘आज मिति २०७७/०१/०२ गतेका दिन कञ्चनपुर लिल्ला भीमदत्त नगरपालिका वडा नं. १८ स्थित सिद्धनाथ साइन्स क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियुले कोभिड–१९ नोभल कोरोना भाइसरको कारणले समस्यामा परेका विद्यार्थीहरूका लागि तपसिल बमोजिमको सामग्री उपलब्ध गराई सहयोग गरेको व्यहोरा जानकारी गराउँदै संगठनलाई स–धन्यवाद व्यक्त गर्दछौं ।’
क्याम्पसजस्तो प्राज्ञिक संस्थाले प्रयोग गरेको विज्ञप्तिको भाषा र आशय दुबै लजाउनुपर्ने खालको देखिएको छ । कोरोना भाइरसका कारण मुलुक लकडाउन भएको बेला विपद्मा परेका आफ्नै सहपाठी विद्यार्थी साथीहरूलाई मानवीय सेवा गर्नु विद्यार्थी संगठनको कर्तव्य हो, एउटा सकारात्मक काम पनि हो । तर यसैलाई बहाना बनाएर क्याम्पस प्रशासनले खुलेआम चाकडी गर्दा पक्कै पनि सकारात्मक सन्देश जाँदैन ।
यस विषयमा प्रतिक्रिया दिँदै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले भने– ‘यस्ता विज्ञप्ति निकाल्ने सहायक क्याम्पस प्रमुखलाई क्याम्पसले कार्वाही गर्नुपर्छ । प्राज्ञिक क्षेत्रमा भागबन्डाको यो कुरूप चित्र हो । यस्तै विकृत रूप रहिरहने हो भने भोलि रजिष्ट्रार, रेक्टर र भिसीबाटै पनि यस्तै प्रकारको वक्तव्य आयो भने अचम्म नमाने हुन्छ ।’