राजधानीको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने बेलायतबाट फर्केका कोरोना भाइरस संक्रमित आमा र छोरा पाटन अस्पतालमा भर्ना भएको १० दिनपछि कोरोना भाइरस मुक्त भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङका क्रममा बिहीबार यसबारे जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालमा भर्ना भएका आमाछोरा कोरोना भाइरस संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
डिस्चार्ज भएका आमाछोरासँगै कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ९ पुगेको छ । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको थियो । बेलायतबाट फर्केको चार सातापछि सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने एकै परिवारका तीनमा आरडिटी परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण देखिएपछि पीसीआरबाट परीक्षण गर्दा आमा र छोरामा कोरोना भाइरस संक्रमण देखिएको थियो । यद्यपि बुहारीमा भने पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिजल्ट आएको थियो ।
८१ वर्षीया आमा र ५८ वर्षीय छोरा भने १० दिनको अस्पताल बसाइपछि स्वाब नेगेटिभ आएर डिस्चार्ज भई घर फर्केका छन् ।