बाँकेको बैजनाथपुरमा नालामा जमेको पानीमा डुबेर विहीबार तीन जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथपुर गाउँपालिका-२ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउत रहेको कोहलपुरका डीएसपी कुलदिप चन्दले जानकारी दिए ।
बैजनाथपुर-२ को पित्तमारीमा निर्माण भइरहेको क्षेत्रीय कारागार नजिकैको नालामा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको उनले बताए । वडाध्यक्ष प्रेमबहादुर थापाले भने, ‘कारागार निर्माणको क्रममा नाला थुनिन पुगेको रहेछ । केही दिन यता परेको पानी नालामा जमेको र सोही जमेको पानीमा उनीहरु पौडी खेलेका रहेछन् । पौडी खेल्ने क्रममा उनीहरु अचानक डुब्न पुगेछन् ।’
तीनै जनाको शव नालाबाट निकाल्ने काम भइसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए ।