गत बैशाख ८ गते सोमवार जारी गरेका दुई अध्यादेशहरुका विरुद्धमा नेपाल बिध्यार्थी संघले देशभर विरोध प्रर्दशन गरेको छ । सरकारले ल्याएको संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै नेविसंघले शुक्रवार बिहान दुरी कायम गर्दै विरोध प्रदर्शन गरेको हो ।
दुवै अध्यादेशहरु असंबैधानिक, अराजनीतिक, असंवेदनहील तथा सनक र सत्ता राजनीतिको अत्यन्तै घृणित खेल भएको भन्दै नेविसंघले आन्दोलन थालेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।
महामन्त्री तिमल्सिनाको नेतृत्वमा काठमाडौंको महाराजगन्ज, नारायण गोपाल चोकमा गरिएको विरोध प्रदर्शनमा नेविसंघका अर्का महामन्त्री युवराज पाण्डे, पुर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेल, नेविसंघका विद्यार्थी नेताहरू रमेश बस्ताकोटी, नारायण हमाल, धर्म दिपक ओझा लगायतको सहभागिता रहेको थियो ।
सरकारले ल्याएका विधेयकहरू तत्काल फिर्ता गर्न दवाव दिने उद्देश्यले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सावधानी अपनाउदै, भिडभाड नगरी सांकेतिक विरोध कार्यक्रम गरेको अर्का महामन्त्री युवराज पाण्डेले जानकारी दिए ।
सत्तारुढ दल तथा विपक्षीको चौतर्फी बिरोधपछि सोमवार बसेको मन्त्रीपरिषदको बैठकले दुबै अध्यादेशहरु फिर्ता लिइसकेको छ ।