विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोभिड–१९ सम्बन्धी बीमालेख जारी गर्न थालिसकेका छन् ।
यस असहज परिस्थितिका बीच भौतिक रूपमा बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै एनआईसी एशिया बैंकले उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको छ । बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल (https://covid19.nicasiabank.com/) मार्फत नवीनतम प्रयोग थालेको हो, जसमार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआईसी एशियाको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहकहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाइनबाटै बीमालेख खरिद गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख रू. १ लाख र दोस्रो श्रेणीको बीमालेख रू. ५० हजार रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १००० र रू. ५०० लाग्नेछ । पारिवारिक वा संस्थागत रूपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः रू. ६०० र रू. ३०० मा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था रहेको छ ।