नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले आज, १९ वैशाख बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेकी छन् । बिहान दाहाल निवास खुमलटार पुगेर छलफल गरेकी राजदूत यान्छी त्यसपछि वरिष्ठ नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेकी थिइन् । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले द्धिपक्षीय हितका विषयमा छलफल भएको बताए ।
त्यस्तै नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले पनि दुई नेतासँग राजदूतले भेटवार्ता गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । वरिष्ठ नेता नेपाल प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहाकार रहेका रिजालले फेसबुकमा लेखेका छन् भेटका अवसरमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको छ ।
१८ वैशाख साँझ राजदूत यान्छीले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन् । तर प्रधानमन्त्रीको सचिवालय र राजदूतावास दुवैले यी भेटबारे खुलाएका छैनन् । अघिल्लो साता चिनियाँ राष्ट्रपति सि चीनफिङसँग राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोनमा कुराकानी गरेकी थिइन् । त्यसपछि राष्ट्रपति भण्डारीलाई भेट्न राजदूत यान्छि शितलनिवास पुगेको बताइएको छ । उक्त भेटवार्ताबारे पनि केही खुलाइएको छैन ।
नेकपाभित्र बढ्दो विवाद र गहिरिँदो संकटका बीच चिनयाँ राजदूतले नेकपाका शीर्ष नेताहरूसँग गरिरहेको लगातारको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।