अध्ययन तथा कामले जिल्ला बाहिर रही लकडाउनमा फसेका माथिल्लो हुम्लाका नागरिकहरुको हवाई मार्गबाट उद्धार सुरु भएको छ ।
हुम्लाबासीको मागलाई मध्यनजर राख्दै पर्यटन मन्त्रालयले नेपालगञ्ज र सुर्खेतमा लकडाउनमा फसेका हुम्लाबासीलाई हवाई सेवाबाट उद्धार गर्ने निर्णय गरे अनुसार सो काम शनिबारदेखिसुरु भएको हो ।
हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका घर भइ नेपालगञ्ज र सुर्खेत फसेका नागरिकको उद्धार कार्य सुरु भएको हो । शनिबार पहिलो फ्लाईटमा नाम्खाका नागरिक ओसार्न सुरु भएको छ । त्यसपछि अन्य दुई गाउँपालिकाका नागरिकहरुको पनि उद्धार गरिने अधिकारीहरुले बताएका छन् ।
नेपालगञ्जमा रहेका ४ सय ९५ र सुर्खेतमा रहेका चार सय गरि ८ सय ९५ नागरिकलाई हुम्ला ल्याइने छ । सीता एयरका तीन वटा, तारा र समिट एयरका एक एक वटा जहाजले यात्रु ओसाने काम गरिरहेका छन् । नेपालगञ्ज र सुर्खेतबाट यात्रुहरु हुम्ला पुगेपछि आ–आफ्ना गाउँपालिकामा गएर अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ ।
जिल्ला बाहिर फसेका नागरिकहरुलाई हवाई मार्गबाट उद्धारका लागि एक महिना अगाडिदेखि माग हुँदै आएको थियो । सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका जनप्रतिनिधिहरुको आग्रहलाई पर्यटन मन्त्रालयले स्वीकार गर्दै जहाजबाट यात्रु उद्धार गर्ने निर्णय गरेको हो ।