नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेसविरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन सरकारसँग आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै देउवाले सरकार र सरकारको नेतृत्वले निरन्तर प्रेसविरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन अपील गरेका हुन् ।
‘भयमुक्त र पक्षपातरहित पत्रकारिताु अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको रहेको उनको भनाइ छ । प्रश्न र आलोचना मिडियाको संवैधानिक हक रहेको उल्लेख गर्दै देउवाले मिडियाका प्रश्नप्रति नकारात्मक दृष्टिकोण राख्न आवश्यक नरहेको स्पष्ट पारेका छन् ।’ प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसविरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ?, उनले प्रश्न गरे ।
कोभिड-१९ को विश्व महामारीले एकातर्फ पत्रकारको व्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको व्यवहारिक व्यवस्थापनमा चुनौती ल्याएको उल्लेख गर्दै कांग्रेस सभापति देउवाले समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न माग गरेका छन् ।
महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको देउवाको भनाइ छ । ‘यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएका छन् । संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छदैथिए, लक डाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ,’ उनले भने, ‘लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंगमाथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने हर्कत अस्वीकार गर्दै नेपाली कांग्रेस सदैव त्यसविरुद्ध प्रखर रुपले उभिने छ ।’
नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउँदै आजको नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा पार्टीको ऐक्यवद्धता रहेको उनले जनाएका छन् ।