नेकपा सचिवालयको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । बिहीबार निर्धारित स्थायी कमिटीको बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदनको अन्तिम टुंगो लगाउने गरी सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
तर उक्त प्रतिवेदन प्रचण्डलगायत शीर्ष नेताहरुको इच्छाअनुसार जारी गर्न ओलीले नचोहको उनीहरु निकट नेताहरुले बताएका छन् । ओलीले आफूले जारी गरेको अध्यादेश र दाहाललाई दिएको पार्टी सञ्चालनको कार्यकारी अध्यक्षको भूमिकाबारे प्रतिवेदनमा उल्लेख गर्न नचाहेको ती नेताहरुको दाबी छ ।
प्रतिवेदनमा बजेट, कोरोना भाइरसको संकटबाट माथि उठाउन सरकारले खेलेको भूमिकालगायत विषय मात्रै उल्लेख गर्न ओलीले दाहाललाई दबाब दिइएको बुझिएको छ ।
ओली, दाहाललगायत सचिवालयका शीर्ष नेताहरुको अझै पनि मत एक नभएपछि स्थायी कमिटीका सदस्यहरु भने अन्यौलमा परेका छन्। उनीहरुले सामूहिक धारणा राख्न चाहेपनि माथिल्लो तहमा मत एक नहुँदा आआफ्नै किसिमले धारणा राख्न बाध्य हुने अवस्था सिर्जना भएको बताउँदै आएका छन् ।
स्थायी कमिटी सदस्य गणेश शाहले भने, ‘पार्टीको माथिल्लो तहमा तालमेल अझै हुन नसकेका संकेतहरु आइरहेका छन्। हामी पनि एक किसिमले अन्यौलमा परेको अवस्था हो अहिले ।’
शनिबारको सचिवालय बैठकमा ओलीले हालसम्म भएका गल्तीको सबैभन्दा बढी दोष आफैले लिने, त्यसलाई लिएर आत्मलोचना गर्ने, अर्का अध्यक्ष दाहाललाई पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्दा हस्तक्षप नगर्ने, पार्टी सचिवालयको अनुमोदनपछि मात्रै सरकारले महत्वपूर्ण निर्णय गर्ने प्रतिवद्धता जनाएका थिए ।