रुपन्देहीका कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय कोरोना संक्रमित युवाको सम्पर्कमा आएका सबैको कोरोना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । लकडाउनकै समयमा वैशाख ४ गते राती नेपाल छिरेका ती युवक त्यसै रात आफ्नो दाइ र साथीसँग भेटेका थिए।

सोही राती मर्चवारी गाउँपालिकास्थित सानीमाको घरमा सुतेको र बिहान सम्मरीमाई गाउँपालिका स्थित दिदीको घरमा खाना खाएका थिए । वैशाख ५ गते उनको दाइले उनलाई स्थानीय क्वारेन्टाइनमा पुर्‍याएका थिए । संक्रमितको सम्पर्कमा आएका २४ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा। राजेन्द्र गिरीले जानकारी दिए ।



नेपाल छिरेपछि उनी २४ जनाको सम्पर्कमा आएको पाइएपछि त्यही अनुसार २४ जनाको परीक्षण गरिएको थियो । २४ जना मध्ये प्रत्यक्ष सम्पर्कमा आएका १० जनाको यसअघि वैशाख २१ गते नै भैरहवा प्रयोगशालामा परीक्षण गरिएको थियो ।

प्रयोगशालामा परीक्षण किटको अभाव भएपछि बाँकी १४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । युवामा संक्रमण पुष्टि भएपछि पुनः परीक्षणका लागि उनको स्वाब संकलन गरी काठमाडौं पठाइएको छ । संक्रमित युवा विशेष कोरोना (स्थायी) अस्पताल बुटवलमा उपचाररत छन् ।

सम्बन्धित समाचार