पर्साका सबै १७ जना कोरोना संक्रमित वीरगञ्ज महानगरपालिका एउटै वडाका आफन्त

पर्सामा थपिएका कोरोना भाइरसका १७ जना संक्रमित एउटै वडाका आफन्त भएको पाइएको छ । उनीहरु वीरगञ्ज महानगरपालिका-३ छपकैयाका भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ । उनीहरु सबै मुस्लिम समुदायका हुन् भने उनीहरुकै परिवारका एकजना १४ दिनअघि संक्रमित भई नारायणी अस्पताल भर्ना भएका छन् ।

यसअघि पनि सोही टोलका दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । बुधबार फेला परेका सबैजना उनीहरुकै परिवारका हुन् । संक्रमितहरुको स्वाब संकलन तीन दिन पहिले भएको थियो । उनीहरुको नमुना परीक्षणको लागि काठमाडौं पठाइएको थियो ।



सबैजना अहिले घरमै छन् । नारायणी अस्पतालबाट पाइएको जानकारी अनुसार उनीहरुलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ । नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ ।

बुधबार संक्रमण पत्ता लागेकामध्ये ७ जना महिला र १० जना पुरुष छन्। उनीहरु २ महिनादेखि ६६ वर्षसम्म उमेर समूहका छन् ।

सम्बन्धित समाचार