नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।
नयाँ थपिएका कोरोना संक्रमितमा १६ वर्षीया पुरुष रहेको डा देवकोटाले जानकारी दिए । उनका अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । जसमा ७४ जना पुरुष छन् भने २८ जना महिला रहेका छन्
डा विकास देवकोटाका अनुसार कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ । उनका अनुसार कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार डिस्चार्ज भएपछि नेपालमा कोरोना निको हुनेको संख्या ३० पुगेको हो ।
डा देवेकाटाका अनुसार पीसीआर विधिबाट हालसम्म १५ हजार ४ सय ९२ वटा र आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ वटा नमूना परीक्षण भएको छ ।