कोरोना भाइरसबाट २ लाख ७६ हजारको ज्यान गयो, ४० लाख १२ हजार संक्रमित

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्म २ लाख ७६ हजार २१० पुगेको छ । ४० लाख १२ हजार ६०९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर छ ।

विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट शुक्रबार एकैदिन ५ हजार ५०८ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार १८४ जनामा नयाँ संक्रमण देखिएको छ । चीनको वुहानबाट शुरु भएको यो महामारीको विश्वमा सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७८ हजार ५५७ पुगेको छ ।



पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख २० हजार ६०९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९३५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख १९ हजार ११७ जनामध्ये १६ हजार ९३१ जनाको अवस्था गम्भीर छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २२९ जनाको मृत्यु भएको छ भने ३ हजार २६२ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार २९९ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६० हजार ११७ पुगेको छ । १ लाख ६८ हजार ४०८ जना उपचारपछि निको भएका छन् । ६५ हजार ४१० जना उपचाररत छन् । त्यसमध्ये २ हजार ७५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको छ । २ लाख ११ हजार ३६४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६२६ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ६४९ जनामा संक्रमण देखिएको छ । १ लाख ७९ हजार ७७९ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २४३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार २०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३२७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १७ हजार १८५ पुगेको छ । इटालीमा संक्रमितमध्ये ९९ हजार २३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८७ हजार ९६१ जनामध्ये १ हजार १६८ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

नेपालमा भने १०२ जनामा संक्रमण देखिएकोमा ३१ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार