प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी-लिपुलेक अवलोकनमा प्रश्न उठाएका छन् ।
भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकको केही भुभागलाई आफ्नो नक्सामा पारेपछि ३ महिनाअघि रक्षामन्त्री पोखरेलको टोली त्यस क्षेत्रमा अवलोकनका लागि गएको थियो। त्यतिबेला पनि भारतले मानसरोवर जोड्ने सडक बनाइरहेको र ठूला ठूला चट्टान फोड्दा महाकाली नदी नै थुनिने र यसले नेपाली वस्ती जोखिममा पर्ने सूचना तथा समाचारहरु आएका थिए ।
रक्षामन्त्रीको टोली भारतका यी सबै गतिविधि नियाल्न सेनाको हेलिकप्टरमा त्यहाँ गएका थिए । उपप्रधानमन्त्री निरीक्षणमा गएर फर्किँदा पनि भारतले बनाइरहेको सडकबारे सरकारले कुनै पहल नगरेको अहिलेको घटनाक्रमले देखाएपछि सांसद थापाले मन्त्री पोखरेलको निरीक्षणमाथि प्रश्न उठाएका हुन् ।
‘केही समयअघि रक्षामन्त्रीले यो ठाउँको अवलोकन गर्नुभएको थियो । के त्यो तीर्थयात्रा थियो ?’ सांसद थापाले संसद बैठकमा प्रश्न गरे, ‘थिएन भने उहाँले सरकारलाई के बताउनुभयो र सरकारले त्यो बीचमा के काम गर्यो ?’ भारतीय हस्ताक्षेपको भर्त्सना गर्दै थापाले प्रश्न गरे, ‘के नेपालले अब रिग्रेट गरेर मात्र बस्ने होरु वा हाम्रो भूमि तिमीलाई प्रयोग गर्न दिन्नौं भनेर अब्जेक्ट गर्ने हो ?’
सडक बनाएको क्षेत्रलाई भारतीय पक्षले प्रस्ट रुपमा आफ्नो भूभाग भएको दाबी गरेको र सङ्क्रमण पछि छलफल गर्ने जवाफ दिएको सुन्नमा आएको भन्दै थापाले नेपाली भूमि एक इन्च पनि तलमाथि हुनु नहुनेमा अडिक हुनुपर्ने बताए ।
‘भारतको यो दादागिरीसँग लडन र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न सिंगो कांग्रेस र जनता तयार छ,’ उनले भने, ‘सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको हामी जान्न चाहन्छौं ।’