नेपालगञ्ज उपमहानगरपालिकाले राहतको सट्टा रोजगार दिने रणनीति बनाएको छ । नगरका २३ वटै वडामार्फत श्रमिक, मजदुर, तथा दैनिक ज्यालादारी गर्ने विपन्न समुदायका व्यक्तिलाई रोजगार दिने रणनीति बनाएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले नेपालगञ्जमा रहेका विपन्न परिवारलाई विकास निर्माणको काम हुँदा काम दिने रणनीति बनाइएको बताए ।
‘वडाका योजनाहरु ठेकेदारमार्फत होस् या उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका हुन् । त्यसमा काम गर्नका लागि नेपालगञ्जका विपन्न वर्गलाई प्राथमिकतामा दिन आग्रह गर्छौँ’, प्रवक्ता रिजालले भने, ‘यसो गर्दा विपन्नलाई राहत हुने विश्वास लिएका छौँ ।’
यसरी काम दिँदा एउटा घरबाट कम्तिमा एकजनालाई रोजगार दिने नीति लिइएको छ । उपभोक्ता समितिमार्फत स्थानीयलाई काम दिँदा वास्तविक श्रमिक र मजदुरहरु काममा आउने विश्वास गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले सामाजिक दूरी कायम गरी विकास निर्माणका गतिविधि अघि बढाउने निर्णय गरेको छ । त्योसँगै अति विपन्न वर्ग अर्थात जसको चुल्हो नै बलेको छैन भने त्यस्तालाई राहत दिइने निर्णय भएको छ ।
प्रवक्ता रिजालले भने, ‘अहिले जसको चुल्हो बलेको छैन । त्यसलाई अनुगमन गरेर हेरेर राहत दिन्छौँ । अरुको हकमा नेपालगञ्जमा हुने विकास निर्माणका काममा रोजगार दिन्छौँ ।’
नेपालगञ्ज उपमहानगरपालिकाले वडामार्फत एक चरण राहत वितरण गरिसकेको छ ।