चीनको वुहानमा एक महिनापछि भेटिए काेराेना संक्रमित

विश्वव्यापी महामारीको रूप लिन पुगेको कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि पहिलो संक्रमित व्यक्ति भेटिएका छन्। उनी शनिबार अस्पताल पुगेको बताइएको छ। वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ संक्रमित देखिएका थिएनन्। विश्वमै पहिलो कोरोना भाइरस संक्रमितका रुपमा गत डिसेम्बरमा वुहानमा बिरामी भेटिएका थिए।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ जना नयाँ संक्रमित भेटिएका छन्। चीनमा अप्रिल २८ तारिखयता एकैदिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो। चीनमा शुक्रबार एक जनामात्र नयाँ संक्रमित भेटिएका थिए। शनिबार संक्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन्।



आयोगले सुलान सहरमा बुधबार संक्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा संक्रमण फैलिएको जनाएको छ। संक्रमित सबैमा कुनै लक्षण नदेखिएको आयोगले बताएको छ।

चीनमा आइतबारसम्म ८२ हजार ९०१ जना सङ्क्रमित भएका छन्। तीमध्ये ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ भने ७८ हजार १ सय २० व्यक्ति उपचारपछि घर फर्किएका छन्। चीनमा छिटपुट घटनाबाहेक संक्रमितको सङ्ख्यामा नियन्त्रण देखिएको छ।

सम्बन्धित समाचार