भारतले चीन जोड्ने सडक निर्माण गरेको नेपाली क्षेत्रका जनप्रतिनिधिले सडक निर्माण भइरहेको विषयमा जानकारी गराउँदा पनि नेपाल सरकारले रोक्न कुनै पहल नगरेको आरोप लगाएका छन् । कालापानी र लिपुलेक भूभाग पर्ने व्यास गाउँपालिका अध्यक्ष दिलीप सिंह बुढाथोकीले महाकाली तारेर भारतीय पक्षले निर्माण सामग्री र उपकरण नेपाली भूमिमा ल्याएपछि आफूले सांसद तथा स्थानीय प्रशासनलाई जानकारी दिएको बताए ।
उक्त विषय संसद्मै उठ्दा पनि सरकारले निर्माण रोक्न कुनै पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘सङ्घका सांसदहरूमार्फत् यो कुरा केन्द्रमा पुर्याउनुहोस् भन्यौँ । संसद्मा पनि कुरा उठ्यो । स्थानीय प्रशासनलाई पनि जानकारी गराएका थियौँ। तर कतैबाट पहल भएन, आज यो दिन देख्नुपर्यो ।’
अर्को देशसँग सीमा विवाद हुँदा समाधान गर्ने अधिकार स्थानीय सरकारलाई नभएर केन्द्र सरकारलाई मात्रै भएका कारण आफूहरूले केही गर्न नसकेको बुढाथोकीको भनाइ छ। आइतबार संसद्मा बोल्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारलाई भारतले सडक बनाइरहेको पहिले नै थाहा भएको तथा त्यो रोक्न भारतसँग पटकपटक पत्राचार र वार्ता भएको बताएका थिए ।