नेपाली भूमि मिचेर भारतले सडक बनाएको विरोधमा नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएपछि भारतीय जनता पार्टीका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रिसाएको भन्दै दबाब दिएको खुलेको छ । भाजपा नेता भगतसिंह कोश्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर नेपालमा आफ्नो पुत्ला जलेकोमा मोदी रिसाएको भन्दै दबाब दिएका हुन् ।
सोमबार प्रधानमन्त्री ओलीसँग भेटेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ओलीको भनाई उदृत गर्दै भने, ‘कोश्यारीले मलाई फोन गरेर मोदी दुखित भएका छन्, मोदी रिसाएका छन्’ भनेर प्रेसर गरिरहेका छन्।’ प्रधानमन्त्रीले यस्तो कुरा गरेपछि आफूले ‘किन ?’ भनेर प्रश्न गरेको र प्रधानमन्त्रीले आफूसँग पुत्ला जलेकोबारे भारतले दबाब दिएको बताएको उनले खुलाएका थिए।
‘मेरो पुत्ला जल्यो। सारा काठमाडौंमा जलिराछु भनेर प्रधानमन्त्री मोदी दुस्खी हुनुभएको छ भनेर कोश्यारीले भनेका छन्,’ ओलीलाई उद्धृत गर्दै गुरुङले भने।
यसपछि आफूले प्रधानमन्त्री ओलीसँग भारतले नै विवादित भूमिमा सडक बनाएपछि नेपालीले विरोध गरेको उल्लेख मुख्यमन्त्री गुरुङले बताए। उनले प्रधानमन्त्री ओली नेपाली भूभागमा भारतीय पक्षले सडक बनाएको विषयमा गम्भीर रहेको र तत्काल समाधान नभए पनि प्रक्रियामा भने गएको दाबी गरेका थिए।