राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीमा नै कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । तर मास्क अनिवार्य गर्ने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले भने कार्यान्वयन गरेका छैनन् ।
ह्वाइट हाउसले आफ्ना सबै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको हो । कर्मचारीले आफ्नो डेस्कमा बस्दा भौतिक दूरी कायम गर्नु पर्ने निर्देशन पनि दिइएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले आश्वयक परेकाले अनिवार्य मास्कको नियम ल्याइए पनि आफ्ना लागि नभएको बताएका छन् । आफू सबैसँग दूरी कायम गरेर बसेकाले मास्क लगाउनु नपर्ने उनले दाबी गरेका हुन् । ह्वाइट हाउसमा संक्रमण फैलिन नदिन आफूहरुले राम्रो काम गरेको पनि उनको दाबी छ ।
ट्रम्पले उक्त दाबी गरिरहँदा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका तीन शीर्ष सदस्य आइसोलेशनमा गइसकेका छन् भने ८१ हजारभन्दा बढी मानिसको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।