नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि आएसँगै लकडाउन थप कडा पारिने भएको छ । प्रधानमन्त्री केपी ओलीले आज दिउसो बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकमा लकडाउन कडा पार्न निर्देशन दिएका थिए । लगत्तै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।
मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीलेका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने अधिकारीले जनाए ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।