कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार नाघ्यो, ४३ लाख ३९ हजार संक्रमित

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार ३२० जनाले ज्यान गुमाएका छन् भने ८५ हजार ३३५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख २ हजार ९१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ४४ हजार ९२५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ३४० जनाको अवस्था गम्भीर छ ।



सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ८३ हजार ३६६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८ हजार ३९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ९३ हजार ३५८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३१ हजार ३१५ जनामध्ये १६ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ ।

नेपालमा भने २१७ जनामा संक्रमण देखिएकोमा ३४ जना उपचारपछि घर फर्किएका छन् । १७ हजार ८ सय २१ जनामा परिक्षण गर्दा २१७ जनामा संक्रमण देखिएको हो ।

सम्बन्धित समाचार