भक्तपुरका कोरोना संक्रमितमध्ये पुरुष सशस्त्र प्रहरी र महिला नर्स

भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी र महिला स्टार्फ नर्स रहेको खुलेको छ। २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ।

पुरुष भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेकाले उनका बारेमा पूरा विवरण दिइएको छैन। भक्तपुरको जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरले उनको विवरणसमेत सार्वजनिक गरेका छैनन्।



रामेछाप स्थायी घर भएका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका-१ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएको बुझिएको छ। त्यस्तै २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्ने बुझिएको छ। हाल मध्यपुर थिमि नगरपालिका -९ स्थित साथीको कोठामा बस्ने उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा हुन्। उनी झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर पुगेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

प्रजिअ पाण्डेका अनुसार महिला आफैँ टेकु अस्पताल पुगेकी थिइन्। त्यहाँ नै उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। त्यस्तै पुरुषको स्वाब भने सशस्त्र प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। जसको रिपोर्ट पनि पोजिटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो।

अहिले संक्रमित देखिएको दुइटै ठाउँ सिल गरिएको प्रजिअ पाण्डेले बताइन्। उनका अनुसार संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यसमेत द्रूत गतिमा भइरहेको छ। दुवै संक्रमितहरु टेकु अस्पतालमा रहेकाले उनीहरुको डिटेल ट्राभल हिस्ट्री प्राप्त भइ नसकेको बताइएको छ।

सम्बन्धित समाचार