सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । बैठकमा आगामी वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिए ।
महासचिव पौडेलका अनुसार समयका कारण सम्भवतः बैठक एक दिन मात्रै बस्नेछ । ‘नीति तथा कार्यक्रम र लिपुलेक अहिलेका प्रमुख विषय हुन् । मुख्यतः तिनै विषयमा छलफल हुन्छ । अन्य विषयमा पछि छलफल गर्ने गरी बैठक बस्छ,’ पौडेलको भनाइ छ ।
यता बैठकको माग गर्दै आएका स्थायी समिति सदस्यहरुले छोटै समय भएपनि बैठक बोलाउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । स्थायी समिति सदस्य भीम रावलले कोरोना र लिपुलेक बाहेक अध्यादेश, सरकार र पार्टीका विषयमा पनि समयभएसम्म छलफल हुनसक्ने बताए । उनले अहिलेकोे मुख्य मुद्दा कोरोना संक्रमण भएको भन्दै राष्ट्रियताको सन्दर्भमा भारतीय अतिक्रमणबारे पनि छलफल हुने जनाए ।