नवकान्तिपुर संवाददाता
काठमाडौं, जेठ १ ।
नेपाल विद्यार्थी संघको आयोजनामा काठमाडौंमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । मसाल जुलुस र विरोध प्रदर्शन शेषमतीदेखि बाइपाससम्म आयोजना गरिएको थियो ।
नेपालको सहमति विना भारतले एकपक्षीय रूपमा दार्चुला जिल्लास्थित लिपुलेकमा सडक बनाएको विरोधमा नेवि संघ र कांग्रेस वडा समितिहरूले संयुक्त रूपमा मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनमा चिनिया सञ्चारमाध्यमले सगरमाथाका बारेमा गरिएको गलत प्रचारको पनि विरोध गरिएको थियो । विरोध प्रदर्शनको नेतृत्व विद्यार्थी नेता ज्ञानेन्द्रप्रकाश गजुरेलले गरेका थिए ।
प्रदर्शनमा नेपाली कांग्रेस तारकेश्वर–४ का उपसभापति शिवराम श्रेष्ठ, महासमिति सदस्य डिल्लीराम सापकोटा, इच्छाराम कार्की, काठमाडौं क्षेत्र नं. ७ का पूर्व क्षेत्रीय सभापति धर्मराज अर्याल, वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल, ककनी काठमाडौं सम्पर्क समितिका सभापति ऋषिकुमार तामाङ तथा तरुण दलसँग आबद्ध उमेश भण्डारी, राजन श्रेष्ठ, विनोद लामा, सुदीप थापालगायत मनोज थापा, भवनाथ गजुरेल, रामशरण थापाआदिको उपस्थिति रहेको थियो ।
प्रदर्शनमा अतिक्रमित भूमि फिर्ता गराएरै छाड्ने, लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएकोले कसैको कुदृष्टि पर्न नहुने जस्ता आवाजहरू बुलन्द गरिएको थियो ।
साथै, प्रदर्शनमा उत्रिएका युवा तथा नेविसंघका अध्यक्ष र महामन्त्रीलाई पक्राउ गरिएकोमा प्रशासनको पनि विरोध गरिएको थियो ।