कोरोना भाइरसका कारण विश्वभर तीन लाख भन्दा बढीको मृत्यु

कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाख भन्दा बढी भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर हालसम्म तीन लाख दुई हजार भन्दा बढीको कोभिड १९ बाट ज्यान गइसकेको छ ।

यस्तै विश्वमा कुल संक्रमितको संख्या पनि ४४ लाख ३७ हजार भन्दा बढी पुगेको छ । संक्रमित मध्ये झण्डै १६ लाख मानिस निको भइसकेका छन् ।



कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ८५ हजार ८ सय भन्दा बढी पुगेको छ । यस्तै त्यहाँ कुल संक्रमितको संख्या १४ लाख १६ हजार भन्दा बढी छ ।

संक्रमितको संख्या त्यसपछि रुसमा सबैभन्दा धेरै छ । पछिल्ला दिनमा लगातार ठूलो संख्या संक्रमित थपिएका छन् रुसमा । त्यहाँ संक्रमितको संख्या दुई लाख ५२ हजार भन्दा बढी पुगेको छ । मृत्यु हुनेको संख्या भन्ेन २३ सय पाँच रहेको छ ।

अमेरिकापछि सबैभन्दा धेरैको ज्यान गएको बेलायतमा संक्रमितको संख्या दुई लाख ३४ हजार भन्दा बढी छ । त्यहाँ ३३ हजार ६९३ जनाको ज्यान गएको छ ।

इटालीमा ३१ हजार ३६८, स्पेनमा २७ हजार ३२१ तथा फ्रान्समा २७ हजार ४२८ जनाको ज्यान गएको छ ।

तीव्र गतिमा संक्रमित थपिएको ब्राजिलमा कुल संक्रमितको संख्या दुई लाख तीन हजार पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १४ हजार पुगेको छ ।

सम्बन्धित समाचार