राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन सत्तारुढ दलको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको खुलासा गर्दै अध्यक्ष केसीले सो प्रस्ताव अस्वीकार गरेको बताएका हुन् ।
बिहीबार एक वक्तव्य प्रकासित गरी केसीले नेकपाले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको तर, आफ्नो पार्टीले सो पद स्वीकार गर्न नसक्ने स्पष्ट पारेका हुन् ।
‘उपसभामुखको पद स्वीकार गर्न नीतिगत रूपमा हामीलाई कुनै अप्ठेरो पर्ने कुरा थिएन। तर संसदमा हाम्रो पार्टीकोतर्फबाट एकजना मात्र प्रतिनिधि भएको हुनाले उहाँलाई प्रतिनिधिसभाको उपसभामुख बनाउँदा संसदमा हाम्रो राजनीतिक भूमिका नै समाप्त हुने भएकाले हामी अहिलेको विशिष्ट अवस्थामा त्यो पदलाई स्वीकार गर्न असमर्थ भएको कुराको जानकारी गराउन चाहन्छौँ’ वक्तव्यमा भनिएको छ।
हाल उपसभामुख पद खाली छ । सभामुख र उपसभामुख पद फरक फरक दलको हुनुपर्ने प्रावधान छ । उपसभामसख पद खाली भएको लामो समय वितिसक्दासमेत चयन प्रक्रियाले मुर्त रुप पाउन सकेको छैन ।