नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २७३ पुगेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । शनिबार संक्रमण पुष्टि हुनेमा बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका छन् ।
बर्दियाको नार्खु–११ की २८ वर्षे महिला, सिरहाको सखुवा–१९ का ३० वर्षे पुरुष, पर्साको वीरगञ्ज–१२ का २८ र २९ वर्षका पुरुष, सर्लाहीको रामनगर–४ की १८ वर्षे युवती तथा चितवनको गढौली–१ की २५ वर्षे महिलामा संक्रमण पुष्टि भएको हो ।
सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ ।