त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकर्मी तीनदिन अघि कपिलवस्तुकी ६ वर्षीया संक्रमित बालिकाको उपचारमा खटिएको बताइएको छ ।
तर शिक्षण अस्पतालले भने यो सूचनालाई लुकाउने प्रयास गरेको छ । अहिलेसम्म डाक्टर, नर्स या अन्य स्वास्थ्यकर्मी कसलाई कोरोना भएको भन्ने पुष्टि गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ ८:१५ बजे सार्वजनिक गरेको ९ जना संक्रमितको विवरणमा दाङको तुलसीपुर उपमहानरपालिका-७ का निवासी पुरुषलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरिएको थियो ।
त्यसपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आफ्नो क्षेत्रबासी भनेर सार्वजनिक गरिएको विवरणका व्यक्ति काठमाडौंकै एक अस्पतालमा कार्यरत रहेको जनाएका थिए ।
स्थायी ठेगाना तुलसीपुर-७ उल्लेख भए पनि उनी शिक्षण अस्पतालको न्यूरो वार्डमा कार्यरत रहेको खुलेको हो । कपिलवस्तुबाट आएकी बालिकालाई कोरोना देखिएपछि शिक्षण अस्पतालको न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीको परीक्षण गरिएको थियो । जसमध्ये बालिकाको उपचारमा संलग्न ती स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो ।
यसअघि शिक्षणकै न्यूरो वार्डमा उपचाररत ६ वर्षीया बालिकमा बिहीबार कोरोना संक्रमण भेटिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती बिरामी बालिकासँगै स्वास्थ्यकर्मीलाई पनि कोरोना देखिएको हो ।
बालिकामा कोरोना देखिएपछि उनको उपचारमा संलग्न र सम्पर्कमा पुगेका शिक्षण अस्पतालका ५० भन्दा धेरै स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ। क्वारेन्टिनमा राखिएकैमध्ये एकजनालाई परीक्षणमा कोरोना देखिएको हो। शिक्षण अस्पतालबाट ७० जनाभन्दा धेरैको नमूना संकलन गरिएको थियो ।