भक्तपुरको तीन क्षेत्रलाई शनिबारदेखि सिल गरिएको छ । नवलपरासीबाट डेरामा फर्किएका एकजना र काठमाडौं महानगरपालिकाका सफाई मजदुरको आरडिटी परीक्षणको रिपोर्ट पोजिटिभ देखिएपछि भक्तपुरको सल्लाघारी, पाण्डोबजार र ल्योसिंख्य क्षेत्र सिल गरिएको हो ।
भक्तपुरको सल्लाघारीमा डेरा गरी बस्ने एक पुरुष नवलपरासीबाट शुक्रबार डेरामा फर्किएका थिए । उनको आरडिटी परीक्षण गर्दा पोजिटिभ देखिएपछि सल्लाघारीस्थित उनी बसेको स्थान सिल गरिएको भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।
त्यसैगरी काठमाडौं महानगरपालिकाका सफाई मजदुरका रुपमा काम गर्ने सूर्यविनायक नगरपालिका ६ पाण्डोबजार बस्ने एक पुरुषमा आरडिटी रिपोर्ट पोजिटिभ देखिएपछि उक्त क्षेत्र पनि सिल गरिएको छ। साथै, उनको पुख्र्यौली घर भक्तपुर नगरपालिका–५ ल्योसिंख्य भएको र उनी त्यता पनि जाने गरेकाले उक्त क्षेत्र पनि सिल गरिएको एसपी प्रधानले बताए। आरडिटी परीक्षणमा पोजिटिभ देखिएका दुवै जना र उनको परिवारलाई घरमै क्वारेन्टाइनमा राखिएको छ। उक्त क्षेत्रका स्थानीयलाई आउजाउमा रोक लगाएको छ।