कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गत चैत्र ११ गतेदेखि जारी राखेको लकडाउनले ६० लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएका छन् ।
श्रम मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले संकलन गरेको तथ्यांक अनुसार लकडाउनमा ६० लाख ८१ हजारभन्दा बढीको रोजगारी गुमेको उल्लेख छ।
सो तथ्यांकअनुसार पर्यटन क्षेत्रका अधिकांशले रोजगारी गुमाएका छन् । त्यस्तै, जडिबुटी संकलन, स्थानीय स्तरको आयोजनामा काम गर्नेहरु सबैभन्दा बढी बेरोजगार बनेका छन् ।
वन तथा जडिबुटी क्षेत्रमा झण्डै ५० लाख कार्यरत रहेकामा २९ लाखभन्दा बढीले रोजगारी गुमाएको आयोगले जनाएको छ । पर्यटन क्षेत्रमा ८ लाख ३० हजार मानिसले काम गर्दै आएकोमा ८ लाखको रोजगारी खोसिएको छ।
स्थानीय स्तरका आयोजनामा काम गर्ने २६ लाखमध्ये १७ लाख बेरोजगार बनेका छन् । पुनर्निमाण क्षेत्रमा कार्यरत ६ लाखमध्ये ३ लाख बेरोजगार बनेका छन् भने सूचना प्रविधि, आमसञ्चार तथा चलचित्र क्षेत्रमा काम गर्नेमध्ये १ लाख बेरोजगार बनेका छन् ।
यद्यपि यो रोजगारी अस्थायीरूपमा मात्र गुमेको सरकारी आकलन छ । सामान्य अवस्था आए धेरैजसो पूर्ववत अवस्थामा फर्कने र स्थायीरुपमा नै रोजगारी गुमेकाको हकमा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको समेत बताइएको छ ।