झगडा मिलाएर फर्किदै गरेका प्रहरी इञ्चार्जको बाटैमा मृत्यु

नजीकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ ।

सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका राईको गए राति निधन भएको हो ।



बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्ता भएको र हिंड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहनुभएका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिए ।

राईसँग प्रहरी चौकीमा कार्यरत हवल्दार र एक जवान समेत साथमा थिए । खेवाङ प्रहरी चौकीमा करिब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी सम्हाल्न पुगेका राईको घर भोजपुर रहेको र हाल दमकमा बसोबास रहेको बुझिएको अध्यक्ष तिवारीले बताए । सदरमुकामबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

सम्बन्धित समाचार