विराटनगर महानगरपालिका–१४ जतुवाका सत्यराम चौहानको हत्यामा छोराहरुको संलग्ना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बेलुका चौहानको शव उनकै घरभित्र कोठामा गाडेको अवस्थामा फेला परेको थियो ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार चौहानको हत्यामा २९ वर्षीय जेठो छोरा रोहित र २६ वर्षीय माइलो छोरो नागेन्द्र चौहानको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार दुवै दाजुभाइले गत शनिबार फरुवा प्रहार गरेर सत्यरामको हत्या गरेको खुलेको छ । हत्या गरेलगत्तै दुवैजनाले कपडाले बेरेर कोठाभित्रै खनेर शव पुरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
घरमा जेठो छोरा रोहितसँग बस्दै आएका मृतक चौहानले पैसा माग्दै आएका थिए । दैनिक ज्यालामजदुरी गर्दै आएका रोहितले मागे बमोजिम रकम दिन नसक्ने जनाएपछि चौहानले घरबाट निकाल्ने धम्की दिँदा परिवारमा विवाद उत्पन्न भएको थियो । विवादकैबिच नागेन्द्र पनि घर पुग्दा रोहितले चौहानमाथि फरुवा प्रहार गरेको खुलेको छ ।
सो प्रहारबाट घटनास्थलमै मृत्यु भएका चौहानको शव छिमेकले थाहा नपाउने गरि मिलेर कोठाभित्रै गाडिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार नागेन्द्रकी श्रीमतीले घटनाका बारेमा थाहा पाएपछि बुवा घरमा नभएको भन्दै नागेन्द्र आफै बुधबार प्रहरी कार्यालयमा पुगेका थिए ।
त्यसपछि पुगेको प्रहरी टोलीले घर भित्रै गाडेको अवस्थामा शव उत्खनन् गरेको हो । बुवाको हत्यामा संलग्न रोहित र नागेन्द्र दुवैलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक राईले बताए ।