गृह मन्त्रालयले अत्यावश्यक काम परेर काठमाडौँ उपत्यका आउनुपरेमा आउन चाहनेले कोरोना संक्रमणको परीक्षण गरेको हुनुपर्ने व्यवस्था गरेको छ। हाल काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्न गृह मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य छ।
गृह मन्त्रालयले स्वीकृति दिएपछि मात्र सम्बन्धित जिल्लाले सवारी पास जारी गर्न सक्छन्। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बाहिरबाट उपत्यका छिर्नेहरुमा कोरोना संक्रमण देखिरहेकाले यस्तो व्यवस्था गरिएको बताए। तर परीक्षण गर्दा पोजेटिभ आएमा त्यस्तालाई छिर्न दिने की नदिने भन्नेबारे उनले स्पष्ट पारेनन्।
‘अब उपत्यका छिर्ने मानिसहरुको पछि लाग्दै हिँड्न सम्भव छैन। बरु सुरुमै कोरोना संक्रमण परिक्षण भयो भने प्रशासनलाई पनि सजिलो हुन्छ। यसको मतलब कोरोना संक्रमण परिक्षण गरेका सबैले काठमाडौँ उपत्यका प्रवेश गर्न पाउने भन्ने होइन ।’, गृह प्रवक्ता शर्माले भने।
गृह मन्त्रालयले यसलाई अनिवार्य नभनेपनि सकेसम्म आरडिटी परीक्षण गरेको प्रमाण देखाउनुपर्ने भनेको छ ।
गृह मन्त्रालयले उपत्यकाका स्थानीय निकायलाई बुधबार गरेको परिपत्रमा भनिएको छ, ‘ काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वंय आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरि सो को रिपोर्टसाथ काठमाडौँ उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने।’
हाल काठमाडौँ उपत्यकाभित्र २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।