नेपालमा १२ सुरक्षाकर्मीमा कोरोना संक्रमण

कोरोना भाइरस फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । संक्रमणको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

प्राप्त विवरणअनुसार मुलुकमा चार सय ५४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १२ जना सुरक्षाकर्मी छन् । उनीहरूको आइसोलेसनमा राखेर उपचार जारी छ । नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका चार र नेपाली सेनाका दुईजनामा कोरोना भाइरस देखिएको हो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।



आमसमुदायसँग नियमित रूपमा जोडिन पुग्ने सुरक्षाकर्मीमा रोग देखियो भने नागरिकमा सर्ने सम्भावना अधिक हुन्छ । त्यसतर्फ सचेत हुनुपर्ने आवश्यकता सम्बद्ध सुरक्षा अधिकारीहरूले औँल्याएका छन् । स्वास्थ्य परीक्षण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जत्तिकै जोखिम सुरक्षाकर्मीलाई पनि छ । तर, स्वास्थ्यकर्मीले झैँ व्यक्तिगत सुरक्षा सामग्री र आवश्यक सावधानी अपनाउन सकिरहेका छैनन् ।

मानिसको भिडभाड रोक्नुपर्ने भएकाले चाहेर पनि उनीहरूले सामाजिक दूरी कायम गर्न सक्दैनन् । कपडाकै मास्कमा सुरक्षा दिएर बस्नु परिरहेको छ । हाल उपलब्ध स्रोतसाधनबीच उच्च मनोबलका साथ सुरक्षाकर्मीले सरकारको आदेश पालनासँगै आफ्नो कर्तव्य पूरा गरिरहेका छन् ।

सम्बन्धित समाचार