बाँके जिल्लाका पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना कोरोनाबाट निको भएका छन् । बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको हो।
उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिकाकै हुन् । शुक्रबार डिस्चार्ज भएर घर जान लागेका मध्य नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक पुरुषसहित र ८ का २० जना रहेका छन् ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले नेपालगन्जका पहिलो संक्रमित व्यक्ति ६० वर्षीय पुरुषको विहीबार परिक्षण गर्दा तेस्रो रिपोर्ट नेगेटिभ आएको र अन्य २० जनाको दोस्रो रिपोर्ट समेत नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गर्न लागिएको बताए।
बाँकेमा हालसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये नरैनापुर गाउँपालिका वडा नं. ५ का २५ वर्षीय एक पुरुषको क्वारेन्टिनमै मृत्यु भएको थियो ।