उपचारको क्रममा अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको ३० घण्टा पछि शव व्यवस्थापन गरिएको छ ।
गुल्मीको मदाने गाँउपालिका ६ पुर्कोट दहका शिक्षकको शव शुक्रबार दिउँसो करीब २ बजे व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अस्पाताल प्रशाशन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समयसम्म चलेको छलफलपछि नेपाली सेनाको गरुण दल बुटवलले शव व्यवस्थापन गरेको हो । गरुण दल बुटवलका क्याप्टेनको नेतृत्वमा आएको टोली सुरक्षित तरिकाले शव व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
कोरोना सक्रमित व्यक्तिको शव व्यवस्थापन कार्यविधि अनुसार संक्रमित व्यक्तिको शव व्यवस्थापन गरिएको जनाइएको छ । संक्रमित व्यक्तिको शव देवदह नगरपालिका १० को जंगलमा हिन्दु संस्कार अनुसार व्यवस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।
उनले जिल्लामा नयाँ घटना भएको तथा परिवार, अस्पतालसँग समन्वय तथा शव व्यवस्थापनका लागि समन्वय गर्नु परेकाले शव व्यवस्थापनमा ढिलाई भएको बताए ।
अन्तिम संस्कारमा उनका परिवार तथा आफन्त कसैको पनि सहभागिता नभएको मृतकका भाइले जानकारी दिए। शव लगेको १ घण्टापछि मात्रै उनका भाइले शव व्यवस्थापन गर्ने विषयमा सहमति जनाएका थिए ।
उपचारका लागि वैशाख ३१ गते राती ११ बजे रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पताल आइपुगेका उनको जेठ ८ बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो ।
जन्डीसले ग्रसित भएपछि अस्पतालको आईसियुमा भेन्टिलेटरको सहयोगमा उपचार गराइरहेका उनमा जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएको तीन दिन पछाडि उनलाई मृत घोषणा गरिएको थियो ।