जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित व्यक्ति तेस्रोपल्ट भागेका छन् ।
उपचारका लागि अस्पताल भर्ना गरिएका सर्लाहीका ४० वर्षीय कोरोना संक्रमित पुरुष आइतबार बिहान प्रादेशिक अस्पतालको कोरोना उपचार कक्षबाट भागेको प्रहरीले जानकारी दिएको छ ।
मानसिक सन्तुलन ठीक नरहेका उनी आइतबार तेस्रो पटक अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
एक साता अगाडि पनि अस्पतालबाटै भागेका उनी धनुषाधामबाट पक्राउ परेको र त्यहाँबाट जनकपुर ल्याउँदा ल्याउँदै बाटोबाटै भागेकोमा पुनः नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गरिएको थियो । आइतबार तेस्रोपल्ट अस्पतालबाटै भागेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले मानसिक सन्तुलन ठीक नरहेका उनको उपचार गर्न चिकित्सकलाई पनि हैरानी झेल्नु परिरहेको बताएका छन् ।
उनी भर्ना रहेको कक्षमा प्रायः मूलगेटमा ताला लगाएर राख्ने गरेको बताउँदै यादवले एकछिन ढोका खुलेको मौका छापेर पुनः भागेको जनाए । प्रादेशिक अस्पताल जनकपुरमा धनुषा, महोत्तरी र सर्लाहका गरी नौं जना संक्रमितको उपचार भइरहेको छ ।