नवकान्तिपुर संवाददाता
नुवाकोट, १२ जेठ ।
अन्ततः कोरोनाको कहर नुवाकोटको ककनी गाउँपालिका वडा नं. ३ मा पनि प्रवेश गरेको छ । वडा नं. ३ का ३९ वर्षीय एक युवामा कोरोना पोजेटिभ पुष्टि भएसँगै यो क्षेत्र पनि कोरोनाको त्रासदीबाट प्रभावित बनेको हो ।
शनिवार मात्र उनलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको खबर स्थानीय जनप्रतिनिधिमार्फत गराइएको थियो । ‘जब रिपोर्ट नेगेटिभ आएको जानकारी पाएँ, म ढुक्कले आफ्नो नियमित काममा लागेको थिएँ । एक्कासि आइतबार फोन गरेर मलाई कोरोना पोजेटिभ देखिएकोे जानकारी गराउँदा म झसङ्ग भएँ ।’ संक्रमित युवा भन्छन्– ‘मलाई कुनै लक्षण नै छैन, म तन्दुरुस्त र फुर्तिलो छु । अघिल्लो दिन नेगेटिभ छ भनिएकोमा भोलिपल्ट पोजेटिभ कसरी आयो ? मलाई त परीक्षणमा नै आशंका लागेको छ ।’
संक्रमित युवा निर्वाध रूपमा समाज, गाउँंघर र परिवारसँग घुलमिलमा रहेकाले यसले भयानक रूप लिन सक्ने आँकलन गर्दै स्थानीय सरकारले ३ नं. वडालाई सिल गरेको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले जनाकारी दिए ।
संक्रमित युवा पेशाले राजनितीकर्मी हुन् । स्थाई घर वडा नं. ३ मा भएता पनि उनको कर्म थलो ललितपुरतिर छ । उनी भन्छन् ‘ललितपुर र आफ्नो गाउँं निरन्तर रूपमा आवत जावत गरिरहन्थेँ । वडा नं. २ सँग पनि नियमित भेटघाटमा हुन्छु ।’
संक्रमित युवाको पोजेटिभ रिपोर्ट आएको ७ घन्टासम्म पनि एम्बुलेन्सको व्यवस्था गर्न स्थानीय सरकारले सकेन । निराश बनेका संक्रमित आफैं मोटरसाइकल चढेर अस्पताल जानलाग्दा बाटोमा उनलाई लिन आउँदै गरेको एम्बुलेन्स भेटियो । हाल उनलाई काठमाडौंस्थित टेकू अस्पतालको आइसोलेसन वाडमा राखेर उपचार आरम्भ गरिएको अस्पताल स्रोतले जनाएको छ ।