स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा एकजना कोरोना संक्रमितलाई भेटेपछि होम क्वारेन्टाइनमा रहेका ढकालको मंगलबार कोरोना परीक्षण गरिएको थियो । मन्त्री ढकाललाई कोरोना संक्रमणको आशंकामा मंगलबार बिहान स्वाव परीक्षण गरिएको थियो ।
पिसिआर विधिबाट गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ देखिए हो । मंगलबार बिहान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलिले मन्त्री ढकालको स्वाब लिएको थियो । रिपोर्ट नेगेटिभ आएसँगै मन्त्री ढकाल मन्त्रालयमा नियमित कममा फर्किएका छन् ।
काममा फर्किएसँगै उनले सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग मंगलबार भिडियो कन्फ्रेन्समार्फत कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामबारे छलफल गरेका छन् । उनका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार देशभर भइरहेको कोरोना नियन्त्रण प्रयासबारे भिडियो कन्फरेन्समा छलफल हुँदैछ ।