मस्कोमा कोरोनाबाट मृत्यु हुनेको संख्या भनिए भन्दा दोब्बर

रसियाको राजधानी मस्कोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या यसअघि भनिएको भन्दा दोब्बर बढी भएको खुलेको छ। बिबिसीमा प्रकाशित समाचारका अनुसार अप्रिल महिना यसअघि बताइभन्दा दोब्बर बढी मानिसको ज्यान गएको उल्लेख छ।

रसियामा संक्रमण शुरू हुँदा सबैभन्दा बढी संक्रमित मस्कोमै भेटिएको थियो। मस्को शहरको स्वास्थ्य विभागले त्यहाँ कोरोनाका कारण १५ सय ६१ जनाको मृत्यु भएको नयाँ तथ्यांक सार्वजनिक गरेको छ। यसअघि त्यहाँ ६ सय ३९ जनाको मृत्यु भएको बताइएको थियो।



विभागले नयाँ तथ्यांकमा कोरोना हो-होइन भन्ने विवाद भएका संख्यालाई समेत समावेश गरेको जनाएको छ। यसअघि स्थानीय संचारमाध्यमले वास्तविक संख्या लुकाएको समाचार प्रकाशित गर्दा प्रशासनले ती दाबीहरूलाई झूटो समाचार भएको दाबी गरेको थियो।

रसियामा हालसम्म करिब ३ लाख ८० हजार जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या अमेरिका र ब्राजिलपछि तेश्रो ठूलो संक्रमित संख्या हो। यसैगरी रसियामा हालसम्म कोरोनाका कारण ४ हजार १ सय ४२ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ।

सरकारले वृहत परीक्षणका कारण थोरै मानिसहरूको मृत्यु भएको दाबी गर्दै आएपनि धेरैले भने वास्तविक संख्या धेरै भएको अनुमान गर्दै आएका छन्। मस्को स्वास्थ्य विभागले जारी गरेको विज्ञप्तिमा पोस्टमार्टम रिपोर्टका आधारमा नयाँ मृतक संख्या आवधिक गरिएको उल्लेख छ। नयाँ तथ्यांकमा यसअघि कोरोना नेगेटिभ प्रमाणित भएका १ सय ६९ केसहरूलाई समेत समावेश गरिएको छ।

यसका साथै अप्रिल महिनामा मृत्यु भएका थप ७ सय ५६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको उसले जनाएको छ। विभागले धेरै मृत्युमा कोरोनासम्बन्धी कारणहरूले महत्वपूर्ण भूमिका खेलेको बताएको छ। यो नयाँ पद्धतिका कारण रसियाभरको मृत्यु संख्यामा नयाँ तथ्यांक आउने ठानिएको छ।

सम्बन्धित समाचार