सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १५ खर्ब हाराहारीको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
चालू खर्चतर्फ नौ खर्ब ४८ अर्ब, पुँजीगत खर्चतर्फ तीन खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ७२ अर्ब विनियोजन गरिएको छ । यसरी सरकाले चालूतर्फ ६४ प्रतिशत, पुँजीगततर्फ २३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ११।७ प्रतिशत खर्च विनियोजन गरेको हो ।
खर्च व्यवस्थापनतर्फ सरकाले राजश्वतर्फ आठ खर्ब ८९ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको छ । विदेशी अनुदानबाट ६० अर्ब प्राप्त हुने र वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब रकम जुटाइने सरकारी योजना छ ।
यसबाट अपुग हुने दुई खर्ब २५ अर्ब आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गरिने सरकाले जनाएको छ । कोरोनाको प्रभाव केही समयमै सामान्य हुने र प्रस्तुत बजेटको परिचालनबाट अर्थतन्त्र पुनः चलायमान हुन गइ अघिल्ला वर्षका औसतसरह ७ प्रतिशत नै आर्थिक वृद्धि हासिल हुने अनुमान सरकारले प्रस्तुत गरेको छ ।
मूल्यवृद्धिलाई पनि सातै प्रतिशतमा सीमित राख्नेगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।
कोरोनासँग जुध्दै अर्थतन्त्र पुनर्उत्थान गर्न स्वास्थ्य, कृषि र रोजगारी सिर्जनालाई सरकारले मुख्य प्राथमिकतामा राखेको छ ।
बजेटको पूर्णपाठ (पीडीएफ) पढ्न यहाँ क्लिक गर्नोस्